Logo

नेपालमा नेत्रहीन क्रिकेटः मनबाट देखिन्छ दृश्य

२० मंसिर, काठमाडौं । नेत्रहीन महिला क्रिकेट मैत्रिपूर्ण प्रतियोगिताका लागि आगामी जनवरीमा पाकिस्तान जानुपर्नेछ । त्यसको तयारी गर्न नपाएको गुनासो जति छ, त्यो भन्दा ठूलो चिन्ता छ, कसरी पाकिस्तानसम्म पुग्ने ?

‘विश्वकप खेल्न गएको पुरुष टिमले जस्तो दुःख भोग्नुपर्‍यो भने महिला टिम पाकिस्तान जान सक्दैन, नेत्रहीन क्रिकेट संघका अध्यक्ष रहेका पवन घिमिरे भन्छन्, ‘बस वा रेलबाट लैजान सम्भव हुँदैन । प्लेनको टिकट व्यवस्था गर्नुपर्ने छ ।’

यसका लागि आर्थिक सहयोग खोज्दै उनी हालसालै युवा तथा खेलकुद मन्त्रालय पुगेका थिए । तर, मन्त्री जगतबहादुर विश्वकर्माको कुराले निराश भएर फर्किए । ‘बरु सहभागी हुन नगए पनि हुन्थ्यो जस्तो व्यवहार भयो’ उनले दुःख मान्दै सुनाए ।

राज्यले नेत्रहीन क्रिकेटलाई गर्दै आएको तिरस्कारको यो एउटा दृष्टान्त मात्र हो ।

तर, न यो पहिलो हो र न अन्तिम नै हुनेछ । स्रोत साधनको अभावै अभावका बीच पनि नेत्रहीन क्रिकेटमा नेपाली खेलाडीले पाएको सफलता भने सामान्य छैन ।

खेलाडी भएर गर्नुपर्ने मेहनत उस्तै छ, जितका उत्सवमा उसैगरी नाचेका छन्, हारको पीडाले दिने निराशा पनि उस्तै छ । खेल उस्तै, खेल भावना उस्तै तर फरक छ, उनीहरुलाई हेरिने दृष्टि ।

नेपालमा नेत्रहीन क्रिकेट भित्रिएको १२ वर्षमा खेलाडीले पाएको लोभलाग्दो सफलता पनि सम्बन्धित निकायले बुझ्न सकेको छैन ।

अरुले नुबझे पनि आफूहरु हेपिएको उनीहरुले बुझेका छन् । उनीहरु आकृति नेदेख्लान् तर तर मनबाटै देख्छन् दृश्य । भावनाले बुझिरहेका छन् । अप्ठ्यारो, असजिलो, असफलताका खुड्किला देखेका छन् । त्यसको अन्तर्य बुझ्छन् । सफलता र उचाइबाट निस्कने उज्यालो अनुभव गर्छन् ।

प्राकृतिक न्यायले भन्छ, भेदभाव कसैलाई नगर । आधुनिक मानवीय व्यवहारले देखाइरहेको छ, शारीरिक अवस्था हेरेर भेदभाव गर । यसैले त उनीहरुका लागि भने राष्ट्रिय झण्डाको महत्व पनि फरक बनेको छ ।

तीन विश्वकपको उत्साह

२०६३ सालमा पाकिस्तानबाट आएका प्रशिक्षकले नेपालमा दृष्टिविहीन खेलाडीका लागि क्याम्प राखेका थिए । त्यही क्याम्पपछि २०६३ सालकै चैतमा काठमाडौं, भक्तपुर र कीर्तिपुर तीन टिम बनाएर पुल्चोक मैदानमा प्रतियोगिता गरियो र औपचारिक रुपमा नेपालमा नेत्रहीन क्रिकेट सुरु भयो ।

‘पाकिस्तानबाट क्रिकेट सिकाउन दुईजना प्रशिक्षक आएका छन् भन्ने थाहा पाएर हामी सिक्न गएका थियौँ । त्यहाँ क्याम्पमा हुँदा दृष्टिविहीन भएर पनि खेलमा लाग्न सकिन्छ भन्ने बुझ्यौँ’ पूर्वखेलाडी समेत रहेका संघका अध्यक्ष पवन घिमिरेले सुनाए ।

यसरी सुरु भएको नेत्रहीन क्रिकेटले छोटो समयमै नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा ठूलो सफलता दिलाएको छ । नेपाललाई क्रिकेट विश्वकपमा पहिलोपटक उनीहरुले नै पुर्‍याएका थिए । २०१२ मा पहिलोपटक टी-ट्वान्टी विश्वकप खेलेकोमा २०१७ मा पनि टी ट्वान्टी र २०१८ मा एकदिवसीय विश्वकप नै खेलिसकेका छन् ।

२०१४ मा दक्षिण अपि|mकामा भएको विश्वकपमा छनोट भए पनि आर्थिक अभावकै कारण सहभागिता जनाउन सकेनन् । यति धेरै प्रतियोगितामा अन्तर्राष्ट्रिय सहभागिता जनाइसक्दा पनि आर्थिक कारणले खेल्न जान नपाउनु दुःखद भएको नेत्रहीन क्रिकेट संघका संयोजक निरोज गिरी बताउँछन् ।

त्यो सकसको यात्रा

२०१८ मा एकदिवसीय विश्वकप खेल्न पाकिस्तान जाँदाको कष्टपूर्ण यात्रा एकदिवसीय विश्वकपपछि सन्यास लिएका पूर्वकप्तान किर्तन श्रेष्ठ दुवालले अझै भुलेका छैनन् ।

स्थलमार्ग हुँदै पाकिस्तान गएको दृष्टिविहीन क्रिकेट टोली भारत गोरखपुर रेल्वे स्टेसनमा अलपत्र परेको थियो । काठमाडौंबाट बसमा सुनौलीसम्म र सुनौलीबाट रेलमा गोरखपुर, अमृतसर, बाघा बोर्डर हुँदै पाकिस्तान पुगेको थियो ।

हरेक पटक विदेश जाँदा अफ्ठ्यारो भोगेका उनीहरुले पाकिस्तान जाँदा भने भुल्नै नसकिने दुःख पाए । नेपाल फर्किएपछि पनि राज्यले गरेको व्यवास्ताले झन दुःखी बनायो ।

यसका बाबजुद खेल मोह घटेको छैन । नेपालमा नेत्रहीन क्रिकेटमा अहिले चार सय बढी पुरुष र दुई सय बढी महिला खेलाडी रहेको नेत्रहीन क्रिकेट संघका अध्यक्ष घिमिरे बताउँछन् ।

सबैको साझा समस्या छ, खेल्न त खेल्ने तर, पेट कसरी पाल्ने ?

मैदानको समस्या पनि उस्तै छ । ‘सबैभन्दा ठूलो समस्या मैदान नै हो । कीर्तिपुर मैदान र मुलपानी मैदान असाध्यै महँगो छ । हामीजस्तो सानो संस्थाले त्यहाँ प्रतियोगिता गर्नै सकिँदैन’ संघका अध्यक्ष घिमिरे भन्छन्, ‘सरकाले हामीलाई जग्गा उपलब्ध गराए आफैं सहयोग खोजेर मैदान बनाएर भए पनि खेल्थ्यौँ ।’

वार्षिक तालिका बनाएर काम गरे पनि समस्याहरु आइरहँदा अˆठ्यारो हुने गरेको घिमिरे बताउँछन् ।

पहिलोपटक महिला नेत्रहीन क्रिकेट

पुरुष टिम बनेको अर्को वर्ष २०६४ सालमा नेत्रहीन महिला क्रिकेट पनि सुरु भएको थियो । तर, महिला टिमले अहिलेसम्म एउटा पनि भन्नलायक अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सकेको छैन । त्यसको एउटै कारण हो, आर्थिक अभाव ।

कक्षा सातमा पढ्दै गर्दा क्रिकेट खेल्न थालेकी भगवती भट्टराई पनि आफूले क्रिकेट खेलेको ११ वर्षमा जति परिवर्तन देखिनु पर्ने हो उति नभएको बताउँछिन् । २०१४ मा बेलायतसँग मैत्रीपूर्ण खेल खेलेको महिला टिमले त्यसपछि कुनै पनि खेल खेल्न पाएको छैन ।

‘सानैमा पोखराको बगरमा क्रिकेट खेल्न सुरु गरेको थिएँ । क्रिकेटबारे थाहा नै नभएकाले धेरै अˆठ्यारो भयो । बुझ्दै सिक्दै गएपछि भने सजिलो भएको छ’ अहिले नेत्रहीन महिला क्रिकेट टिमकी कप्तान रहेकी भट्टराईले भनिन्, ‘अझै पनि अभ्यास र अन्तर्राष्ट्रिय अनुभव नै कमजोर छ ।’

आउँदो पुस १५ गतेदेखि देशभरको उत्कृष्ट चार टिम बनाएर महिलाहरुको ‘पारा च्याम्पियनसिप नेत्रहीन क्रिकेट प्रतियोगिता’ हुँदैछ । त्यसपछि जनवरी २६ देखि पाकिस्तानमा नेपाल-पाकिस्तान मैत्रीपूर्ण नेत्रहीन महिला क्रिकेट प्रतियोगिता पनि हुँदैछ ।

अन्तर्राष्ट्रिय प्रतियोगिता भए पनि आफूहरु अझै अभ्यासमा जुट्न नसकेको भट्टराईले सुनाइन् । ‘पाकिस्तानका खेलाडीहरु हरेक दिन अभ्यास गरेको हामीले थाहा पाइरहेका छौँ, हामी भने एक ठाउँमा भेला हुन पनि समस्या छ’ उनले भनिन् ।

अभ्यास गर्न नपाएको समस्या मात्र होइन, पाकिस्तान कसरी पुग्ने भन्ने डर पनि छ ।

देखिने र नदेखिने जिन्दगी

खेल भावना उस्तै हो तर, नियती भिन्न छ ।

प्राकृतिक न्यायले भन्छ, भेदभाव कसैलाई नगर । आधुनिक मानवीय व्यवहारले देखाइरहेको छ, शारीरिक अवस्था हेरेर भेदभाव गर । नत्र यी खेलाडीहरुले पारिश्रमिकको त कुरै छाडौँ खेल्ने मैदानको समेत अभाव झेल्नुपर्ने थिएन होला ।

नेपालले एकदिवसीय क्रिकेटको मान्यता पाएको कुराले नेपाली खेल जगत, समर्थक जति खुशी भए, त्यस्तो खुशी नेत्रहिन टोलीले तीन विश्वकप खेल्दा पनि देखिएन । क्षमतायुक्त पारस, सन्दीप या सोमपाल । फरक क्षमतायुक्त किर्तन, रमेश र सूर्य ।

दृष्टिविहीनतालाई पराजित गरेर समाजमा उदाहरण बन्न सक्नु सानो चुनौती होइन । उनीहरु पनि केही हुन्, उनीहरुले पनि केही गर्दैछन् भन्ने देख्नुपर्ने हो तर, देखेनन् ।

मैत्रीपूर्ण खेलका लागि महिला टिमलाई पाकिस्तान लैजान सहयोग खोज्दै गर्दा ‘नगए हुन्थ्यो’ जस्तो व्यवहार गरेको नेत्रहीन क्रिकेट संघका अध्यक्ष घिमिरेले सुनाए ।

‘दृष्टिविहीन महिलाहरु बाहिर खेल्न जाँदा सकारात्मक सन्देश समाजमा जान्छ भन्ने बुझेकै छैनन्’ केही आक्रोशमिश्रति स्वरमा उनले भने, ‘उनीहरुले पनि नेपालको इज्जत राख्न सक्छन् । राष्ट्रिय झण्डाको महत्व राख्न सक्छन् नि हैन र ?’

‘अहिलेसम्म पनि सङ्घर्षमै छौँ । हामीलाई हेरिने दृष्टिकोणमा पनि परिवर्तन भएको छैन । सरकारको नजर पनि राम्रो छैन । तर, आˆनो सामथ्र्यले जे गरेका छौँ, त्यसमा खुशी लाग्छ’ २०६८ देखि क्रिकेट सुरु गरेका खेलाडी रमेश बहादुर बाँनियाले भने ।

‘पछिल्लो समय विश्वकपका लागि पाकिस्तान जाँदा असाध्यै दुःख पायौँ तर, नेपालमा पनि नेत्रहीन क्रिकेट खेलाडी रहेछन्, उनीहरुले पनि विश्वकप खेल्छन् भन्ने बुझाउन सकियो भनेर खुशी हुने बाटो मिलेको छ,’ आर्मी टिमको कप्तानसमेत रहेका उनले सुनाए ।

निरन्तरता कसरी दिने ?

हिजो दृष्टिविहीन खेलाडीहरु सुकुलमा बसेर खेलेका थिए । लगाउने जर्सी, ट्राउजरसम्म थिएन । आज आफ्नै मेहनतले पेटभरी खाएर, जर्सी-ट्राउजर लगाएर खेल्न सक्ने भएका छन् ।

तर त्यसरी सँधै लागिरहन सकिन्न रहेछ । त्यसका उदाहरण हुन्, पूर्व कप्तान किर्तन श्रेष्ठ ।

‘परिवार हुन्छ, धेरैतिर सोच्नुपर्छ । आˆनो काम छाडेर कहिलेसम्म खेलिरहने ?’ चाँडै सन्यास लिनुको कारण खुलाउँदै उनले भने, ‘हामीले प्रतियोगिता खेल्नुअघि एक रुपैयाँ पनि लिन्न भनेर सम्झौता गर्नुपर्छ । अभ्यास गर्दादेखि प्रतियोगिता खेल्दासम्म आˆनै पैसा खर्च हुन्छ । विश्वकप खेल्दासमेत एक रुपैयाँ पाएनौँ ।’

एकदिवसीय विश्वकप खेलेर फर्किएपछि नेपाली क्रिकेट समर्थक समाजले गरेको सहयोग सम्झँदै उनले भने, ‘सरकारी स्तरबाट पैसा नै दिनुपर्छ भन्ने होइन तर, सम्मान त गर्न सकिन्छ नि ।’

नेपाली टिमका उपकप्तान विक्रमबहादुर रानाले पनि विक्रमसँगै सन्यास लिए । उनको पनि अवस्था उस्तै छ ।

विश्वकपमा नेपालका लागि उत्कृष्ट प्रदर्शन गरेका पदमबहादुर बडेला कामका लागि भारत हिँडेका छन् । हरेक प्रतियोगितामा पुराना खेलाडी कम हुँदै जान्छन्, नयाँ खेलाडी देखिन्छन् । नयाँ खेलाडी आउनु राम्रो कुरा भए पनि पुराना खेलाडी हराउनु दुःखद छ ।

‘संघले पनि पुराना खेलाडीको योगदानलाई बिर्सन मिल्दैन । खेलाडीले खेलिरहन सकुन् भनेर केही योजना बनाएरै काम गर्नुपर्छ,’ पूर्वकप्तान दुवालले भने ।

२०६४ सालमा कास्कीमा नेत्रहीन क्रिकेट खेलिरहेका सूर्यप्रसाद भट्टराई अन्य अभावसँगै पुराना खेलाडीलाई गरिने वेवास्ताले पनि दिक्दारी बढेको बताउँछन् । ‘नेत्रहीन क्रिकेट संघ आर्मीमैत्री मात्रै भएको हो कि भन्ने लाग्छ’ उनले भने, समाजमा पछि पारिएका व्यक्तिहरुलाई अवसर दिने भनिएको छ तर, एउटा ठाउँमा स्थापित भइसकेका मान्छेलाई मात्रै अवसर मिलिरहेको छ ।’

नेपालले टी-ट्वान्टी विश्वकपमा बंगलादेशलाई हराउँदा म्यान अफ दि म्याच बनेका उनी बीचमा क्रिकेट नै छाडौँ कि जस्तो मनस्थितिमा पनि पुगेका थिए । १६ वर्ष नहुँदै राष्ट्रिय टिमको सदस्य बनेका उनी क्रिकेटकै कारण आफूलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएका कारण निरन्तर खेलिरहेका छन् । ‘आँखा देख्दैन भनेर हेप्नेहरु मैले क्रिकेट खेलेर नाम कमाएपछि सम्मान गर्न थाले’ उनी भन्छन् ।

यसरी खेलिन्छ नेत्रहीन क्रिकेट ?

नेत्रहीन क्रिकेटले पाएको सफलता र उनीहरुको भोगाइबारे यति धेरै चर्चा गरेपछि तपाईंलाई चासो हुनसक्छ, आँखा नदेख्नेहरुले कसरी क्रिकेट खेल्दा हुन् ?

हामीले हेरिरहने क्रिकेटभन्दा नेत्रहीन क्रिकेट केही भिन्न छ । यद्यपि, यो ‘लज अफ क्रिकेट’ अन्तर्गत नै पर्छ । नेत्रहीन क्रिकेटमा एकदिवसीय खेल ४० ओभरको हुन्छ ।

बज्ने खालको बल प्रयोग हुन्छ, जुन सामान्य क्रिकेट बलभन्दा अलिकति ठूलो आकारको हुन्छ । खेल्ने मैदान, पिच, ब्याट भने अरु क्रिकेटको जस्तै नै हो । स्टम्प केही ठूलो हुन्छ र त्यसमा छुँदा सजिलै पहिचान गर्न सक्ने गरी बनाइएको हुन्छ ।

क्रिकेट खेलाडीलाई बी १, बी २ र बी ३ गरी विभाजन गरिएको हुन्छ । बी १ मा पूर्ण दृष्टिविहीन खेलाडी पर्छन् भने कतिसम्म देख्न सक्ने भन्ने आधारमा बी २ र बी ३ मा खेलाडी विभाजन गरिएको हुन्छ । एउटा टिममा बी १ का चार जना, बी २ का तीन जना र बी ३ का चार जना खेलाडी रहन्छन् ।

नियमअनुसार बलरहरुले कम्तिमा दुईपटक बाउन्स हुने गरी बल फाल्छन् । बल गुड्दा आउने आवाजका भरमा अन्दाज गरेर ब्याट्सम्यानले ब्याटिङ गर्छन् । फिल्डरहरुले पनि त्यही आवाजको भरमा फिल्डिङ गर्छन् । पूर्ण दृष्टिविहीन खेलाडीले एक बाउन्समा पनि क्याच समात्न पाउँछन् ।

बलिङ गर्नुअघि बलरले विकेट किपर रेडी ? भनेर सोध्नुपर्छ । रेडी भनेपछि ब्याट्सम्यान रेडी ? भनेर सोध्नुपर्छ । उसले पनि रेडी भनेपछि प्ले भनेर बल फाल्छन् ।
ब्याटिङ गर्दा बी १ मा पर्ने खेलाडीका लागि रनर राख्न सकिन्छ भने अरुका लागि पाइँदैन । बी १ का खेलाडीले हान्ने रन दोब्बर गणना हुने गर्दछ । जस्तो चौका हान्दा आठ रन दिइन्छ भने छक्का हान्दा १२ रन दिइन्छ ।

टी-ट्वान्टीमा बलिङ गर्दा ६ ओभर बी १ का खेलाडीले गर्नै पर्ने नियम हुन्छ भने एकदिवसीयमा बी १ का खेलाडीले २० ओभर बलिङ गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
सम्पर्क
अनामनगर -२९, काठमाण्डौ नेपाल
सम्पर्क नं. ९८४२७८४२२३
Email:[email protected]
दक्षिण कोरिया
सम्पर्क नं. +821036304532
Email:[email protected]
सामाजिक संजालमा हामी
हाम्रो बारेमा
अध्यक्ष-
सम्पादक– दिनेश कार्की
सह-सम्पादक–
संवाददाता– टंकेश लिम्बु
सूचना बिभाग दर्ता नं.
© 2019 ETV Khabar
Designed By : appharu