Logo

संगीतको ज्योति छँदैछ नि !

नारायण गोपालले गाएको गीतका यी पङ्ति मेनुका पौडेलको भोगाइसँग मेल खान्छन्  । वास्तवमै, उनका लागि आँखा खोल्नु र चिम्लिनुमा ठूलो अन्तराल छैन । तर, यसको मतलब उनको सिंगो जीवनलाई यही एउटा पङ्तिले बर्णन गर्छ भन्ने होइन ।

दृष्टिहीनताले बाहिरी संसार अन्धकारमय भए पनि मेनुकाको भित्री संसार उज्यालो छ । उनको जिन्दगीको सफरमा सबैभन्दा ठूलो सहारा बनेको छ संगीत । भगवानले उनलाई दृष्टि नदिए पनि सुरिलो स्वर दिएका छन् । उनलाई आफ्नो भाग्यसित कुनै गूनासो छैन । जीन्दगीप्रति कुनै विरक्तिभाव छैन । उत्साह र उमंगका साथ बाँचिरहेकी छिन् । ओठमा निर्धक्क मुस्कान फुलाइरहेकी छिन् ।

०००

भारतीय टेलिभिजन च्यानलको रियालिटी शो ‘सारेगमप’ मा भाग लिएर केही दिनअघि काठमाडौं फर्केकी छिन् मेनुका । उनले अन्तरवार्ताका लागि ददिकोटस्थित एउटा घरमा बोलाइन्, जहाँ  हामी पुग्दा युट्युवकर्मीहरु लाइन लागेका थिए ।

‘आज तीनवटा युट्युव च्यानललाई इन्टरभ्यू दिएँ,’ उनी सुनाउँदै थिइन्, ‘तपाईंहरुपछि तीनजना छन् ।’

जे होस् हामीलाई कुराकानीका लागि करिब एक घन्टा प्राप्त भयो ।

‘मलाई त जोसुकैसँग कुरा गर्न पनि डर लाग्न थालेको छ,’ मेनुकाले भनिन्, ‘फेक हेडलाइन राखेर हैरान बनाउँछन् ।’

‘मनमा अलिकति आँट र दिमागमा अलिकति चातुर्य भएपछि कतै हराउने-भौतारिने त चान्स नै हुँदैन नि,’ मेनुका भन्छिन् ।

त्यसो त आफू सारेगमपको प्रतिस्पर्धाका क्रममा पनि केही युट्यूव च्यानलको फेक न्युजको शिकार भएको बताएकी छन् । यसको चर्चा तल गरौंला ।

खासमा हामी बढी उत्सुक थियौं, उनको जीवनशैली जान्न । जन्मजात दृष्टिविहीन उनको जीवन कति कष्टप्रद हुँदो हो, कति ठाउँमा हन्डर खाँदी हुन् ? कति बैराग्य चल्दो हो ?’

तर, मेनुकाको हामीले जवाफ सोचेभन्दा फरक आयो । प्राय अपांगता भएकाहरुमा हुने मनोभावभन्दा उनको मनोभाव फरक थियो । एउटा सपाङ्ग व्यक्तिभन्दा बढी उत्साही, आत्मविश्वासी र साहसी देखिइन् । आफ्नो शारीरिक अवस्थाप्रति उनलाई कुनै ग्लानी छैन । न त, सरकारले आफूजस्ता अपाङ्गता भएकाहरुलाई नहेरेको रेडिमेड गुनासो नै गरिन् ।

‘आफूले पाएको जीवनमा म खुशी र सन्तुष्ट छु,’ उनले प्रफूल्ल मुद्रामा भनिन्, ‘आफूप्रति हीनतावोध होइन, गर्व गर्छु ।’

०००

२०५५ सालमा झापाको हल्दीवारी-४ मा बस्ने एउटा सामान्य परिवारमा जन्मेकी हुन् मेनुका । जेठी छोरीका रुपमा जन्मेकी उनको दृष्टिमा समस्या रहेको थाहा पाउँदा बाबुआमा कति अत्तालिएका थिए, उनलाई थाहा छैन । तर, उनलाई थाहा छ कि बाबुआमाले उनको आँखा बिषेक पार्न सक्ने जति प्रयास गरेका हुन् । हस्पिटल मात्र चहारेनन्, धामी-झाँक्रीको शरणसमेत परे । तर, कुनै उपाय लागेन ।

अन्ततः ४ वर्षकी भएपछि मेनुकालाई बुवाले गह्रामुनीमा रहेको दुर्गा मावीको होस्टलमा लगेर राखिदिए, जहाँ उनीजस्तै दृष्टिविहीन बालबालिकाले आश्रय लिइरहेका थिए । घरबाट एक घन्टाको दुरीमा रहेको यही होस्टलको चौघेरामा मेनुकाको बाल्यकाल बित्यो ।

सानैदेखि चञ्चल स्वभावकी, उनकै भनाइमा ‘छुच्ची’ थिइन् मेनुका । आफूलाई मन नपरेको कुरामा जहाँ जोसुकै पनि जवाफ फर्काइहाल्थिन्, तर्क झिकिहाल्थिन् ।

‘अहिले पनि म आफूलाई चित्त नबुझेको कुरामा मौन बस्न सक्दिनँ,’ उनी भन्छिन्, ‘तर पहिले जस्तो छुच्ची त छैन है ।’

उनका साथीहरु होस्टलबाट बाहिर निस्किन डराउँथे । दुई पाइला सार्नुपर्दा पनि आत्तिन्थे । तर, मेनुका ‘ह्वाइट केन’ लिएर बिन्दास जहाँसुकै हिँडिदिन्थिन् । एक्लै ठमठम शहर-बजार चहार्थिन् । अनि, जसरी पनि चाहेको ठाउँमै पुग्थिन् ।

‘मनमा अलिकति आँट र दिमागमा अलिकति चातुर्य भएपछि कतै हराउने-भौतारिने त चान्स नै हुँदैन नि,’ मेनुका भन्छिन् ।

मेनुका पढाइमा जेहेन्दार थिइन् । लेख्नुपढ्नु उनका लागि सहज पक्कै थिएन । ब्रेल लिपीमा लेखपढ गर्नुपर्ने, अनि सहयोगी राखेर परीक्षा दिनुपर्ने हुन्थ्यो । सहयोगीले प्रश्न पढिदिन्थे, उनी मुखले जवाफ दिन्थिन् र सहयोगीले त्यसलाई कापीमा उतारिदिन्थे । आफूले भनेअनुसार कापीमा लेखियो-लेखिएन, उनलाई मेसो हुन्थेन ।

तैपनि मेनुकाले एसएलसी फर्स्ट डिभिजनमा पास गरिन् । आँखा देख्ने कैयन पढाईमा उनीभन्दा पछि परे । एसएलसी उत्तीर्ण भएसँगै आफूले १२ वर्ष बिताएको होस्टेलबाट उनी बिदा भइन् ।

०००

चार वर्षको उमेरमा बाबुसँग होस्टेल छिर्दा नै मेनुकाले हार्मोनियमको गुञ्ज सुनेकी थिइन् । त्यति कलिलो उमेरमै आफूलाई त्यो धून प्रिय लागेको उनी अहिले पनि सम्झिन्छिन् ।

‘म सहानुभूति पाएर होइन, आफ्नै क्षमताले अघि बढ्न चाहन्थेँ, त्यसैले उहाँहरुलाई सुरुमै आफ्नो शारीरिक कमजोरी बताइनँ,’ उनी भन्छिन् ।

त्यहाँ रहेका विद्यार्थीहरुलाई संगीत सिकाइँदो रहेछ । मेनुकालाई बिस्तारै संगीतले लठ्याउँदै लग्यो । उनी संगीतमै रमाउन थालिन्, यसमै आफूलाई भुलाउन थालिन् । ७ वर्षको उमेरमै उनले हार्मोनियम बजाउन सिकिसकेकी थिइन् ।

मेनुकाको गायन त्यहाँ रहेका अरुको भन्दा अब्बल थियो । त्यसैले शिक्षक-शिक्षिकाले उनलाई विभिन्न प्रोग्रामहरुमा लैजान्थे । साथै स्कुलभित्र र बाहिरका थुप्रै गायन प्रतियोगिताहरुमा भाग लिएर उनले पुरस्कार जितिन् । पढाइमा भन्दा संगीतमै उनको बढी समय बित्ने गथ्र्यो ।

एसएलसीपछि काठमाडौं आएर संगीत अध्ययन गर्ने उनको लक्ष्य थियो । तर, काठमाडौंमा चिनेजानेको कोही थिएन । कहाँ पढ्ने, कहाँ बस्ने केही मेसो थिएन । त्यतिबेला उनलाई सहारा दियो मोबाइलले ।

उनले एक दिन रेडियोमा संगीतकार सुभाषचन्द्र ढुंगेलको अन्तरवार्ता सुनिन् । अन्तरवार्तामा ढुंगेलले आफ्नो मोबाइल नम्बर सार्वजनिक गर्दै संगीत क्षेत्रमा लाग्न चाहने युवाहरुलाई आफूले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

मेनुकाले ढुंगेलले टिपाएको नम्बरमा फोन गरिन् ।

‘तपाईं सुभाषचन्द्र ढुंगेल हो ?’

‘हो ।’

‘चोट के हो व्यथा के हो तपाईंले नै लेखेको हो ?’

‘हो ।’

‘जति चोट दिन्छौ देउ मायालु पनि तपाईंले नै लेखेको हो ?’

‘हो ।’

‘सर, मैले तपाईंको अन्तरवार्ता सुनेँ । काठमाडौं आएर संगीत पढ्न चाहन्छु, सहयोग गर्नुपर्‍यो ।’

सुभाषले आकाशेधारामा रहेको सिर्जना कलेज अफ फाइन आर्ट्समा भर्ना हुन सुझाव दिए र काठमाडौं आएपछि आफूलाई भेट्न भने ।

त्यसपछि मेनुकाले कम्पोजर हरी लम्सालसित फेसबुकमा चिनजान गरिन् । उनले पनि काठमाडौं आएमा सहयोग गर्ने बताए ।

उनीहरु दुवैलाई मेनुकाले आफू दृष्टिविहीन भएको बताइनन् ।

‘म सहानुभूति पाएर होइन, आफ्नै क्षमताले अघि बढ्न चाहन्थेँ, त्यसैले उहाँहरुलाई सुरुमै आफ्नो शारीरिक कमजोरी बताइनँ,’ उनी भन्छिन् ।

२०७२ सालको असोजतिर उनी बुवाको साथ लागेर काठमाडौं आइन् । त्यतिबेला काठमाडौंमा भूकम्पको घाउ आलै थियो । यद्यपि उनको मनभित्र अर्कै भूकम्प चलिरहेको थियो । नयाँ ठाउँ, कसरी बस्ने, कसरी पढ्ने ?

बुवाले उनलाई सिर्जना कलेजमा भर्ना गरेर फर्किए । उनी कपनमा रहेको दृष्टिविहीनहरु बस्ने होस्टलमा बसेर आकाशेधारामा रहेको म्युजिक कलेज धाउन थालिन् ।

०००

कलेजको पहिलो दिन । आफ्नो पुरानो बानीअनुसार मेनुका कसैसँग सहयोग नमागी एक्लै होस्टलबाट निस्किइन् । गाडी चढेर दरबारमार्गमा ओर्लिइन् र मानिसहरुलाई सोध्दै कलेजसम्म पुगिन् ।

फर्किदा भने उनलाई सकस भयो । उनलाई भनिएको थियो, गैरीधारा आएपछि कपन जाने गाडी पाइन्छ । उनी मानिसहरुलाई ‘कहाँ पर्छ गैह्रीधारा ?’ भनेर सोधिन् । एक जनाले उल्टो दिशा बताइदिएछन् । हिँड्दा-हिँड्दा हैरान परिन् । अहँ आएन । अर्कोलाई सोधिन् । उसले अर्कैतिर बताइदियो । उनी रोटेपिङजस्तो घुमेको घुम्यै भइन् ।

‘१२ बजे कलेजबाट हिँडेकी म साढे ३ घन्टासम्म भौतारिएँ,’ उनले भनिन्, ‘तर गाडी चढ्ने ठाउँ फेला परेन ।’

यत्तिकैमा एउटा स्कुटरवाला रोकिएर उनलाई सोधे, ‘बैनी कहाँ जाने ?’

उनले जवाफ दिइन् । फलानो ठाउँ । स्कुटरवालाले उनलाई लिफ्ट दिए र गैरीधारामा छोडिदिए । अनि उनी गाडी चढेर होस्टेल पुगिन् । थाकेर लखतरान भएकी उनी दिउँसै निदाइन् । ब्यूँझदा खुट्टाका पिँडुला कटकटी खाइरहेका थिए ।

आफूले आँखा नदेखेर दु:ख पाएको यो नै पहिलो र एक मात्र घटना भएको मेनुका बताउँछिन् ।

०००

उनी काठमाडौं आएको केही समयमै रेडियो नेपालमा राष्ट्रिय गायन प्रतियोगिता हुने भयो । मेनुका त्यसमा भाग लिन जोशिइन् । उनले सुभाषचन्द्रलाई फोन लगाइन् । सुभाषले कुलेश्वरमा बोलाए ।

कुलेश्वरमा उनले भनेकै ठाउँमा उत्रेर फेरि फोन हानिन् ।

‘खोई त म यहीँ छु, देख्दिनँ त ?’ फोनमा सुभाषचन्द्रले भने ।

भारतसित नाकाबन्दीको बदला लिएरै छोड्छु,’, ‘म अन्धीलाई एक सेयर गरिदिनुस् प्लिज’ जस्ता हेडलाइनमा आएका समाचारले आफूलाई असर गरेको मेनुकाले बताइन् ।

उनले भनिन्, ‘मैले कालो चश्मा लगाएकी छु र ह्वाइट केन बोकेकी छु ।’

सुभाष त्यहाँ नजिकै रहेछन् । उनले मुनुकालाई देखेका पनि रहेछन् । तर आफूलाई फोन गर्ने टाठी केटी यीनै हुन् भन्ने उनले अनुमानै लगाएनछन् । जब मेनुकालाई भेटे उनी स्तब्ध बने ।

‘पहिल्यै भन्नुपर्थ्यो नि, म आफैं भेट्न आउँथेँ,’ उनी चुक्चुकाए । सुभाषले मेनुकालाई आफ्नो घरमा लगे । उनको गायन सुने र प्रतियोगिताका लागि गीत दिन तयार भए ।

मेनुका आफैले छानेर एउटा गीत लिइन् । त्यसको लिरिक्स आफ्नो मोबाइलमा रेकर्ड गरिन् । र, त्यो रेकर्ड लिएर अर्को दिन हरी लम्साललाई भेट्न पुगिन् । उनलाई देखेर लम्साल पनि उसैगरी स्तब्ध भए ।

मेनुकाले आफू रेडियो नेपालको गायन प्रतिस्पर्धामा भाग लिन लागेको भन्दै आफूले ल्याएको गीतमा संगीत भरिदिन आग्रह गरिन् । यद्यपि, लम्सालले त्यो गीत त्यति रुचाएनन् ।

‘यति ठूलो प्रतियोगितामा भाग लिँदा लर्तरो गीतले हुँदैन, म आफैं सुभाष सरसँग भेटेर गीत सेलेक्ट गर्छु,’ उनले भने ।

त्यसको केही दिनमै मेनुका, सुभाष र हरीको त्रिपक्षीय भेटवार्ता भयो सुभाषको घरमा । सुभाषको डायरीबाट हरीले एउटा गीत छनोट गरे । त्यसमा संगीत भरिदिए । त्यही गीत लिएर मेनुकाले रेडियो नेपालको प्रतियोगितामा भाग लिइन् । र, भइन् प्रथम । यससँगै उनको हौसलाले नयाँ उडान लियो ।

त्यसपछि उनले भाग लिइन् नेपाल आइडलमा । जहाँ उनी टप ११ सम्म पुगेर पब्लिक भोटका आधारमा आउट भइन् । यो प्रतियोगिताले उनलाई देशभर चिनायो । विश्वभर रहेका नेपालीहरु उनका फ्यान भए ।

०००

नेपाल आइडलपछि उनको डिमान्ड बढिरहेको थियो । प्रोग्रामहरुमा निमन्त्रणा आइरहन्थे । एउटा फिल्मको गीतसमेत गाइसकेकी थिइन् । सांगीतिक प्रस्तुतिका लागि कतार, दुबई पुगिसकेकी थिइन् । तर, उनलाई अझै पनि संगीत जान्न बाँकी नै छ भन्ने लागिरह्यो । उनले मुम्बईमा संगीत सिक्न जाने सोच बनाइन् ।

तर, यत्तिकैमा भारतीय टिभी च्यानलले ‘सारेगमप’ नयाँ संस्करण सुरु गर्न लागेको र काठमाडौंमा पनि अडिसन हुने थाहा पाइन् । उनले यो अवसर गुमाउन चाहिनन् । भिडियो अडिसनबाट उनी सेलेक्ट भइन् । त्यसपछि काठमाडौंको अडिसनमा भाग लिएका सयौंबाट छानिएर कलकत्ता गइन् । त्यहाँबाट छानिएर मुम्बईमा अडिसन दिन पुगिन् । पाचौं चरणमा बल्ल उनले दिएको अडिसन ‘अन एयर’ भयो, जुन भिडियो नेपालमा भाइरल नै बन्यो ।

मुम्बई अडिसनमा उनले लता मंगेशकरको गीत गाएकी थिइन् जसमा जजहरुले नसोचेको प्रतिक्रिया दिए ।

मेनुका भन्छिन्, ‘मलाई असाध्यै डर लागिरहेको थियो । डराउँदै गाएकी थिएँ । तर, जजहरुले अकल्पनीयरुपमा प्रशंसा गर्नुभयो ।’

त्यस्तो प्रतिक्रिया पाएपछि त माथिसम्मै पुग्छु जस्तो लागेको थियो होला, टप ११ बाट आउट हुनुपर्दा कस्तो महसुस भयो उनलाई ?

उनले जवाफ दिइन्, ‘अहँ मैले ठूलो महत्वाकांक्षा राखेकी थिइनँ । खासमा मैले यसपाली अनुभव लिन्छु र अर्कोपटक राम्रो तयारी गरेर जान्छु भन्ने सोचेकी थिएँ । त्यसैले आउट हुँदा पनि धेरै दु:ख लागेन ।’

यद्यपि, उनलाई आफ्नो गायकीको कमजोरीले मात्रै आउट भएको जस्तो चाहिँ लाग्दैन ।

मेनुका भन्छिन्, ‘त्यहाँ धेरै कुराले असर गर्दो रहेछ । गायन मात्रै नभएर धेरै कुरामा विचार पुर्‍याउनुपर्दो रहेछ । गीत त मैले राम्रो नै गाएकी थिएँ । तर, पनि अरु कारणले आउट भएँ ।’

कस्तो अरु कारण ?

मेनुका आफू फेक न्यूजहरुको शिकार बनेको बताउँछिन् । उनका सारेगमपमा हरेक प्रस्तुति यूट्यूब र फेसबुकमा भाइरल बनेका थिए । धेरैले उनको वाहवाही गरे । तर, एकाध यूट्यूब च्यानलले सेयर बढाउने होडमा उनका बारेमा उटपट्याङ र कपोलकल्पित समाचार बनाएका थिए ।

‘मेनुका पौडेल भन्छिन्: भारतसित नाकाबन्दीको बदला लिएरै छोड्छु,’, ‘म अन्धीलाई एक सेयर गरिदिनुस् प्लिज’ जस्ता हेडलाइनमा आएका समाचारले आफूलाई असर गरेको मेनुकाले बताइन् ।

मैले मम्मीबुवासँग पैसा नमागेको धेरै भइसक्यो,’ उनी भन्छिन्, ‘आफैंले कमाएको पैसाले जीवन चलिरहेको छ । बरु सकेँ भने उहाँहरुलाई सहयोग गर्छु ।’

‘त्यस्तो हेडलाइन आएपछि मलाई भारतमा रहेका धेरै नेपालीभाषीहरुले म्यासेज गर्नुभयो । सारेगमपमा पनि यसको चर्चा चलेको रहेछ । म चाँडै आउट हुनुमा सम्भवतः यस्तो हेडलाइनको पनि हात छ,’ उनी अनुमान गर्छिन् ।

मेनुका भोटिङ राउन्ड सुरुभन्दा ठीक अगाडि टप ११ बाट आउट भएकी थिइन् । सञ्जोग कस्तो भने नेपाल आइडलबाट पनि उनी टप ११ बाटै आउट भएकी हुन् ।

सारेगमपमा जाँदा उनले गायनसँगै हिन्दी भाषाको पनि ब्यापक तयारी गरेकी थिइन् । उनले फेसबुकमा भारतीयहरुलाई खोजी-खोजी साथी बनाएकी थिइन् । हिन्दी फिल्म हेरेर डाइलग प्राक्टिस गरेकी थिइन् । साथै अमेरिकामा रहेका गायक नरेन्द्र प्यासीले पनि म्यासेन्जरमार्फत उनलाई हिन्दी सिक्न सहयोग गरेका थिए ।

‘निकै मिहिनेतपछि हिन्दी पनि मज्जाले बोल्न सक्ने भएँ,’ उनी भन्छिन् ।

सारेगमपमा उनले नेपाली गुडियाको संज्ञा पाएकी थिइन् । नेपाली गायक उदितनारायण झाका छोरा आदित्यनारायणले कार्यक्रम सञ्चालन गर्थे । उनले मेनुकासँग बेलाबेला नेपालीमै कुरा गर्थे । एउटा एपिसोडमा गायक उदितनारायण पनि आएका थिए ।

‘बहुत राम्रो स्वर छ तर अझै मिहिनेत गर्नुपर्छ,’ उदितले दिएको प्रतिक्रिया उद्वृत गर्दै मेनुकाले सुनाइन् ।

०००

जन्मेदेखि नै आँखा नदेखेकी मेनुकाको कल्पनामा यो संसार कस्तो होला ? मानिसहरु कस्ता होलान् ? घर, आकाश, ढुंगा, रुख, जनावर कस्ता होलान् ?

‘अहँ म केही पनि कल्पना गर्न सक्दिन,’ उनी भन्छिन्, ‘मेरो कल्पनामा भावहरु मात्रै आउँछन् दृष्य आउँदैन ।’

सपनाको कुरा पनि त्यस्तै हो । मेनुका पनि सपना त देख्छिन् । सपनामा पनि कुनै दृष्य देख्दिनन् उनी ।

‘भौतिक वस्तु कस्ता हुन्छन् भन्ने मलाई थाहै छैन, त्यसैले सपनामा पनि निस्पट्ट अन्धकार नै देख्छु’ उनी भन्छिन् ।

मेनुकाको महसुस गर्ने क्षमता भने निकै तिक्ष्ण छ । आँखा नदेखे पनि उनी आफ्नो अगाडि कसैको उपस्थितिको तत्काल बोध गर्न सक्छिन् । चिनेको व्यक्ति हो भने अनुमान गर्न सक्छिन् । हातले छामछुम पारेर धेरै कुराहरु ठम्याउँछिन् ।

उनलाई घरभित्र कुनै पनि काममा अरुको सहायता चाहिँदैन । आफ्नो सबै काम आफैं गर्छिन् । उनका व्यक्तिगत सामानहरु कसैले खोजिदिनु पर्दैन ।

‘हरेक कुरा राख्ने नियमित स्थान हुन्छ, त्यसैले भेट्न गाह्रो पर्दैन,’ मेनुका भन्छिन् ।

यति मात्र होइन, उनी घरभित्रका धेरै काम गर्न सक्छिन् । भान्साका कामहरु पनि गर्छिन् । आफूलाई मासुबाहेक (शाकाहारी भएकाले) सबै खानेकुरा पकाउन आउने उनी बताउँछिन् । नून-चिनी-मसला अड्कल्न उनलाई कसैको सहायता चाहिँदैन ।

मेनुका आफ्नो प्रयोगका सामानहरु सबै आफैं किन्छिन् । लुगाफाटासमेत । पसलमा केही किन्न जाँदा कसैलाई साथी पनि लैजान्नन् ।

लुगाफाटा किन्दा राम्रो नराम्रो कसरी छुट्याउनुहुन्छ ? भन्दा उनी जवाफ दिन्छिन्, ‘छामेर ।’

आफू अन्तरभावबाट कुनै चिजको रंग छुट्याउन सक्ने मेनुका बताउँछिन् । साथै दिन वा रातको पनि उनलाई बोध हुन्छ ।

मेनुका आजकाल पहिलेजस्तो सार्वजनिक यातायातमा त्यति हिँड्दिनन् । उनी टुटल्स एपमार्फत मोटरसाइकल भाडामा लिएर यात्रा गर्छिन् ।

पहिलेदेखि नै मेनुकाले आफ्नो खर्च आफैंले धान्दै आएकी छन् ।

‘मैले मम्मीबुवासँग पैसा नमागेको धेरै भइसक्यो,’ उनी भन्छिन्, ‘आफैंले कमाएको पैसाले जीवन चलिरहेको छ । बरु सकेँ भने उहाँहरुलाई सहयोग गर्छु ।’

बाहिरी संसार अन्धकार भए पनि मेनुकाको भित्री संसार उज्यालो छ । यसलाई उज्यालो बनाएको छ संगीतले । एकप्रकारले उनको जीवनमा ज्योती बनेर आएको छ संगीत । मन परेको गीत गुन्गुनाउँदा मात्र पनि उनी स्वणिर्म आनन्दमा पुग्छिन् ।

अँ, उनको अर्को साहारा चाहिँ मोबाइल पनि हो ।

‘मोबाइलले गर्दा सबै कुरामा सजिलो भएको छ,’ उनी भन्छिन्, ‘हातमा मोबाइल र इन्टरनेट भएपछि मलाई कतै पनि एक्लै हिँड्न डर लाग्दैन ।’

उनी फुर्सद भयो कि मोबाइल खेलाउन थालिहाल्छिन् । यति छिटो मोबाइल चलाउँछिन् कि आँखा देख्दिनन् भनेर पत्याउनै गाह्रो हुन्छ । फेसबुक मात्रै होइन, अनलाइन न्यूजहरु पनि भ्याएसम्म चहार्छिन् । समासामयिक कुराहरुमा अपडेट रहन्छिन् । उनी यूट्यूवमा फिल्म पनि हेर्छिन् (सुन्छिन्) । प्राय पुराना फिल्महरु उनलाई मन पर्छन् । गीत सुन्ने त छँदैछ ।

उनी अहिले पनि आफूखुशी बाहिर निस्किदिन्छन् । बत्तिएर हिँडिदिन्छन् । काठमाडौंका अस्तव्यस्त सडक, गाडीहरु, मानिसहरुको भिडभाडबीच हिँड्न उनलाई एउटा छडीले डोहोर्‍याउँछ । बाटो काट्नुपर्दा चाहिँ प्राय ट्राफिक प्रहरीसित सहयोग माग्छिन् ।

‘आजकाल त धेरै मानिसहरुले चिन्न थालेका छन्,’ मेनुका भन्छिन्, ‘गायिका भनेर सम्मान गर्छन् ।’

शारीरिक अशक्तहरुले समाजप्रति गर्ने गुनासो एउटै हुन्छ, ‘हामीलाई समाजबाट-सरकारबाट अवहेलित भयौं, तिरस्कृत भयौं ।’ तर मेनुकाले यस्तो अनुभूति कहिल्यै नगरेको बताइन् ।

मेनुकालाई मेकअप गर्न मन पर्छ । राम्री हुन मन पर्छ । राम्रा लुगा लगाउन मन पर्छ । तर, आफू कस्ति देखिएँ भन्ने उनलाई थाहा हुन्न । अरुको प्रतिक्रियामा निर्भर हुन्छिन् । कसैले राम्री भन्दा फुरुंग पर्छिन् ।

उनी मानिसहरुको आवाजका आधारमा उप्रतिको धारणा बनाउँछिन् ।

‘एक-दुईचोटि कुरा गरेपछि त्यो मान्छे कस्तो हो भन्न मलाई थाहा भइहाल्छ,’ उनी दावी गर्छिन् ।

मेनुकाका बाबु वैदेशिक रोजगारीका लागि १०-१२ वर्षदेखि मलेसियामा छन् । नेपाल आउने-जाने गरिरहन्छन् । आमा गृहणी हुन् । उनका १८ र सात वर्षका दुई बहिनीहरु छन् । परिवारमा शारीरिक अपांगता अरु कसैमा छैन ।

प्रतिक्रिया दिनुहोस्
सम्पर्क
अनामनगर -२९, काठमाण्डौ नेपाल
सम्पर्क नं. ९८४२७८४२२३
Email:[email protected]
दक्षिण कोरिया
सम्पर्क नं. +821036304532
Email:[email protected]
सामाजिक संजालमा हामी
हाम्रो बारेमा
अध्यक्ष-
सम्पादक– दिनेश कार्की
सह-सम्पादक–
संवाददाता– टंकेश लिम्बु
सूचना बिभाग दर्ता नं.
© 2019 ETV Khabar
Designed By : appharu