Logo

त्यसपछि मलाई आफू राम्रो गाउन सक्छु जस्तो लाग्यो : गायक पुस्पन प्रधान

गायक पुस्पन प्रधानको नाम हिजोआज धेरै चर्चामा छ । नेपाल आइडलका प्रतिस्पर्धी अमित बरालले ‘पन्छी’ गीत गाएपछि उहाँको चर्चा एकाएक बढेको हो । नेपाल आइडलको निमन्त्रणामा काठमाडौं आइपुगेका प्रधानलाई सञ्चारकर्मीसँग कुराकानी गर्न भ्याईनभ्याई छ । गायक प्रधानसँग हामीले पनि कुराकानी गर्ने समय मिलाएका थियौं ।

तपाईं धेरै पहिलेदेखि गीत गाउँदै आउनुभएको । ‘पन्छी’ बोलको गीत त १० वर्ष अगाडि नै रेकर्ड भएको रहेछ । तर यस बीचमा तपाईं चर्चामा आउनुभएन । अहिले भने एकाएक चर्चामा आउनुभयो नि ?

गीत राम्रो भएर मात्र हुँदैन रहेछ । प्रचारप्रसार पनि राम्रो हुनुपर्ने रहेछ । स्टेजदेखि मिडिया प्रमोशन पनि राम्रो हुनुपर्छ । अहिले त्यस्तै संयोग जुर्‍याे ।

धेरै पहिलेदेखि उड्न नपाएको ‘पन्छी’ अहिले त उडेर धेरै माथिसम्म पुगिसकेको छ । अहिले त धेरै व्यस्त हुनुहुन्छ नि है ? स्टेज कार्यक्रमहरु गर्न कत्तिको भ्याउनुहुन्छ ?

स्टेज कार्यक्रममा जान केही नियन्त्रण गरेको छु । किनकी धेरै स्टेज कार्यक्रममा जान थाल्यो भने ‘क्रियटिभिटी’ कम हुन्छ भन्ने लाग्छ । जे होस गर्नैपर्ने ठाउँमा अथवा राम्रो स्टेज पाएको खण्डमा भने छोडेको छैन । बुटवलमा अमितको दाइ भएर जानैपर्ने थियो । त्यही भएर पनि त्यहाँ गएको हुँ ।

तपाईंले धेरै गीत गाइसक्नुभएको छ, तर बढी चर्चामा रहेको गीत ‘पन्छी’ को बारेमा जान्न मन लाग्यो, कसरी जन्मेको थियो यो गीत ?

म सानो छँदा नेपाली गीत  सुन्ने एउटै मात्र साधन थियो, रेडियो नेपाल । रेडियो नेपाल सुनिरहँदा आफूलाई मन पर्ने गायक विदेश गए रे भन्ने सुनिन्थ्यो । त्यतिबेला मलाई अब त नेपाली गीत सुन्न नपाइने भयो भन्ने लाग्थ्यो । हामीहरुले बढी पैसा दिन नसके पनि माया त दिएकै थियौं नि, गायकहरुले किन विदेश जानुपरेको होला भन्ने कुराले मन खल्लो बनाउँथ्यो ।

यो गीत कम्पोज गर्नुभन्दा अगाडि मेरो मनमा यस्तै प्रकारको भाव थियो, सायद त्यही भएर यो गीत लेखिएको हो ।

यो मेरो चाहना भन्दा पनि ईश्वरको चाहना हो । गायकहरु स्वदेशमै बसुन् भन्ने मेरो मात्र नभएर घर–घरको, जन–जनको समस्या हो । जुन कुरा यो गीत रेकर्ड भएपछि मात्र मलाई थाहा भयो । सबैले मलाई असाध्यै माया गर्नुभयो । म ऋणी छु सबैप्रति, यतिधेरै माया मैले पाएको छु ।

कहिलेकाहीँ कुनै गीत वा समाचारले मान्छेलाई प्रभावित पार्ने गर्छ । विदेश जान लागेको मान्छे यो गीत सुनिसकेपछि नगएको तपाईंले भेट्याउनुभएको छ ?

भेटेको छु । एरपोर्टबाटै फर्केको मान्छे पनि भेटेको छु ।

यस्तै तपाईंको अर्को ‘बाउको जुँगो’ भन्ने गीत पनि धेरैले मन पराएको गीत हो । यो गीत चाहिँ कसरी जन्मियो ?

म त्यतिबेला देवघाट घुम्न गएको थिएँ । मलाई नारायणी नदीको पानीले सिँच्नु थियो । त्यहाँ मैले एउटा वृद्धाश्रम भेटें । कोही त राम्रा व्यवस्थित थिए, कुनै आश्रम भने भत्किन लागेका थिए, जहाँ बुढी आमाहरु बसिरहनुभएको थियो । त्यो देखेर मलाई एकदमै नराम्रो लाग्यो ।

बुझ्दै जाँदा आफन्त र छोराबुहारीले नै बुढा भएका बाआमालाई त्यहाँ छोड्ने रहेछन् र कोही कोही त मरेपछि काजकिरिया गर्न पनि आउँदा रहेनछन् । त्यो कुरा सुनेर मलाई छोरा जन्मिँदा मेरी श्रीमतीले पाएको प्रशव पीडाको याद आएको थियो । मनमा लाग्यो त्यति पीडा खेपेर जन्माएको छोराले आखिर बुढेशकालमा किन यसरी अलपत्र छोडेर जाँदा रहेछन् ।

त्यसपछि मैले यसलाई गीतमा उतारें र आफैले  भरेर गाएँ । ‘पन्छी’ गाएको केही पछि मात्र यो गीत रेकर्ड भएको थियो ।

तपाईं यस्तै प्रकारको गीतमा बढी जोड दिनुहुन्छ है ?

आफूले देखेको भोगेको कुराहरु त आफूलाई प्यारो लाग्ने नै भयो । सायद त्यही भएर होला यस्तो गीतले मलाई बढी छुन्छ ।

तपाईं आफू भारतमा बस्नुहुन्छ, हुन त त्यहाँ बसेर पनि नेपाली भाषीलाई माया गर्नेहरुको संख्या एकदमै धेरै छ । तपाईंले नेपाली गीतमा आउने प्रेरणा कहाँबाट पाउनुभयो ?

गीत गाएर बस्ने मेरो सानैदेखिको बानी थियो । मेरो गायन सबै साथीभाइहरुले एकदमै मन पराउनुहुन्थ्यो । तर लज्जालु स्वभावको भएकाले मलाई मञ्चमा आउन डर लाग्थ्यो । स्कुलमा हुँदा टेबलमा औंलाले ठोकेर गीत गाउने बानी थियो ।

त्यतिबेला म विज्ञान विषय लिएर कक्षा १२ मा पढ्दै थिएँ । कलेजमा अडिसन भइरहेको थियो । तर हाम्रो विज्ञान संकायबाट भने कोही साथीहरु पनि सहभागी थिएनन् । सायद त्यही भएर होला, हाम्रो क्लास टिचरले ‘पढेर मात्र हुँदैन ‘एक्स्ट्रा एक्टिभिटिज’मा पनि सक्रिय हुनुपर्छ, तिमीहरुमा कोसँग के क्षमता छ ?’ भनेर सोध्नुभयो ।

मेरो साथीले यसलाई राम्रो गाउन आउँछ सर भनेपछि उहाँले मलाई  गाउन लगाउनुभयो । मैले किशोर कुमारको गीत ‘हमे ओर जिने कि चाहत न होते अगर तुम न होते..’ भन्ने गीत गाएँ ।

स्टेजमा गएर अगाडि फर्केर गीत गाउन लाज लागेर मैले स्टेजको भित्तापट्टि फर्केर गीत गाउन थालें । सुरु के गरेको थिएँ, सबैले ताली बजाउन थाले । त्यसपछि सरले अर्को कुनै नयाँ गीत गाउ न पुस्पन भन्नुभयो ।

त्यतिबेला सञ्जयदत्तको फिल्म ‘खुबसुरत’ को ‘बढी ताजा खबर हे कि तुम खुबसुरत हो..’ भन्ने गीत एकदमै चलेको थियो, मैले त्यही गीत गाएँ । त्यसपछि त हलमा पुरै मौनता छायो । मैले सबै दर्शकहरुको ध्यान आफूतर्फ तानेको रहेछु भन्ने लाग्यो । त्यही दिनदेखि म भित्रको गायकी ‘चिंगारी’ बनेर निस्क्यो । म आफू राम्रो गाउन सक्छु भन्ने मलाई  लाग्यो ।

त्यसपछि मैले पढाईलाई भन्दा पनि संगीतलाई बढी ध्यान दिन थालें । संगीतमै आधारित पुस्तक किन्न थालें ।

जब मान्छेको दुनियाँ हराउँछ, तब आफ्नो घरको अवस्था के छ, को बिरामी छ, कसलाई कहाँ जानुपर्ने हो केही पनि थाहा नहुँदो रहेछ । मानौं  संगीतप्रति एक प्रकारको भक्ति हुँदोरहेछ । संघर्ष त सबैले आ–आफ्नो ठाउँमा गरेको नै हुन्छ ।

तपाईंको विचारमा गीत कस्तो हुनुपर्छ ? नेपाली बजारमा यसको प्रतिस्पर्धा कस्तो छ ?

गीत भनेको धेरै कल्पना र बढी बनावटी अभिव्यक्ति मात्र नभएर समाजको यथार्थता बोलेको हुनुपर्छ । हुन त गीतको बारेमा मान्छेका आ–आफ्नै परिभाषाहरु होलान् । तर जब गीत समाजले लिनै सक्दैन अथवा स्वीकार्नै सक्दैन भने त्यो गीतको सार्थकता रहँदैन भन्ने लाग्छ ।

हुनसक्ला धेरै राम्रा कुराहरु आएर पनि मान्छेले लिन नसकेको होला । ती राम्रा कुराहरु मान्छेसम्म ल्याउन सक्ने साधन पनि नभएर हो जस्तो लाग्छ । किनभने हामी अधिक धेरै बजारको पछि दौडिने गर्छौं । हामीलाई एउटा राम्रो चिजले बजार बनाउँछ भन्ने विश्वास थिएन । पन्छीकै कुरा गर्ने हो भनेपनि मैले यो बनाएको यत्रो वर्ष बितिसक्दा पनि मलाई विदेशबाट कहिल्यै कार्यक्रमको अफर आएन ।

तर आज यो स्टेजबाट (नेपाल आइडल) गाउँदाखेरि सबैले यो गीतको महत्व बुझे । आज यो पन्छीले बनाएको बजार मैले उत्ताउलो गीत गाएर बनाएको त होइन नि । सबै गीतहरुको आ–आफ्नै रङ्ग हुन्छ अनि हरेक रङ्ग हामीलाई चाहिन्छ । सबै सिर्जनाहरु आफ्नो ठाउँमा उत्कृष्ट हुन्छन् । तर सबै नाच्ने सिर्जना मात्र उत्कृष्ट हुन्छन् भन्ने होइन ।

नेपाली गीत संगीत अहिले कुन स्थानमा छ जस्तो लाग्छ ?

यो समय नेपाली सांगीतिक क्षेत्रको लागि सुनौलो युग हो । किनभने एक ताका आदरणीय स्वर्गीय नारायणगोपाल सरदेखि फत्तेमान, प्रेमध्वज प्रधान आदि त्यो समयमा उहाँहरुले नेपाली गीतसंगीत क्षेत्रमा कति धेरै योगदान दिनुभएको छ ।

अहिले आएर पनि यो समयका थुप्रै गायकहरुले नेपाली सांगीतिक क्षेत्रलाई थप उचाइमा पुर्याउनु भएको छ । नेपाली गीत संगीत सुन्नेको संख्या एकदमै बढेको छ । पाश्चात्य संगीतको प्रभाव बढ्दा बढ्दै पनि नेपाली गीतसंगीतले आफ्नो स्थान सुरक्षित राखेको छ । त्यही भएर नेपाली गीत संगीतको स्थान एकदमै राम्रो  छ भन्ने लाग्छ ।

त्यही भएर म पहिलाको श्रष्टालाई सम्मान त गर्छुँ नै उहाँहरुप्रति ऋणी पनि छु । त्यही भएर स्टेजमा उहाँहरुको गीत गाउँदा मलाई गर्व महसुस हुन्छ, किनकी त्यो त हाम्रै गीत त हो नि ।

तपाईंले चलचित्रमा पनि गीत गाउनुभएको छ है ?

चलचित्र ‘समर लभ’ मेरो एकल शब्द संगीत हो । त्यो भन्दा अगाडि मैले ‘जिन्दगी रक्स’ भन्ने चलचित्रमा पनि शब्द संगीत गरेर गाएको थिएँ । जुन गीतले युट्युबमा एकदमै राम्रो, झण्डै एक मिलियन जति भ्यूज पनि पाएको थियो । यो गीत सुनेर नै समर लभ निर्माता प्रभावित हुनुभएको रहेछ । त्यसपछि मलाई यसको अफर दिनुभयो ।

त्यसमा यस्तो गीत छ, ‘यस्तो सपना एउटै भो कामना, आफैभन्दा नि प्यारो लाग्ने कस्तो यो तिर्सना साया ओे साया…. माया हो मेरी माया । जुनी जुनी पाउनसकुँ सितल यो छाया..’

अब कस्तो गीत ल्याउने तयारीमा हुनुहुन्छ ?

मेरो जिम्मेवारी पनि बढेको छ । तर यत्ति नै गीत फ्याँक्नुपर्छ भन्ने मलाई कुनै हतारो पनि छैन । जबसम्म मेरो आत्माले कुनै गीत दिंदैन, तबसम्म मैले गीत पस्किन सक्दिन । होइन भने आफूले खोजे जस्तै गीत मैले भेट्नुपर्यो ।

अन्तिम अपडेट: पुस ९, २०७५

प्रतिक्रिया दिनुहोस्
सम्पर्क
अनामनगर -२९, काठमाण्डौ नेपाल
सम्पर्क नं. ९८४२७८४२२३
Email:[email protected]
दक्षिण कोरिया
सम्पर्क नं. +821036304532
Email:[email protected]
सामाजिक संजालमा हामी
हाम्रो बारेमा
अध्यक्ष-
सम्पादक– दिनेश कार्की
सह-सम्पादक–
संवाददाता– टंकेश लिम्बु
सूचना बिभाग दर्ता नं.
© 2019 ETV Khabar
Designed By : appharu