Logo

कोरियाबाट अलबिदा मन्त्री रबिन्द्र अधिकारी

प्रिय मन्त्री रबिन्द्र अधिकारी, एकफेर तिम्रै आवाज लाइभमा सुन्न मन छ मलाई भनिदेउ न, “गलत हो यो!” चरम बितृष्णाका बिच कालो बादलको छेउमा हिराको घेरा जस्तै थियौं तिमी!

भौतिक योजना र पुर्वाधारमा दखल राख्ने तिमी सानो मन गरेरै राजी भएथ्यौं, संस्कृति,पर्यटन तथा नागरिक उड्डयन सम्हाल्न! कहिले तिम्रो पिएसओ ले कोट बोकेको समाचार अतिरन्जित बनाएर होस् त कहिले एक टेलिभिजन पत्रकारले तेर्साएको बुम फालेको बाहानामा, तिमी माथी हिलो छ्याप्न खोजिएका ती कर्महरु सधैं सधैं मिथ्था लागिरहे मलाई! र, यो अजिब सजिब प्राणी सधैं सधै नतमस्तक रहिरह्यो तिम्रो भिजनका अघि, तिमिले लिएको अठोटका अघि, तिम्रो अदम्य साहस र जुझारुपनका अघि!

मन्त्री अधिकारी, हजारौं किलोमिटर पारी रहेको मैले जब तिमी चढेको हेलिकप्टर सम्पर्कबिहिन भएको खबर जब सुने म कामना गरिरहें, नयाँ युगका संवाहक तिमि, युवा मनको ढुकढुकी तिमी, सकुशल रहनुपर्छ! तिमिले हेलि-चढ्नु केही समयअघि मात्रै दर्शन गरेको पाथिभरा माताले तिम्रो रक्षा गर्नुपर्छ! तरपनी प्रिय मन्त्री अधिकारी, तिमी नरहेको न्युज अपडेट मोबाइल स्क्रिनमा देखें एकाएक! म भक्कानिएँ! सायद, यो आस्था तिमी भन्दा अघि मैले खोजेको पुस्ताको नेता माथी अझ उसको जुझारुपन र दिन खोजेको नेतृत्वका लागि थियो! यतिधेरै नतमस्तक तिमि प्रति होईन, तिम्रा कर्महरुका अघि थिए होला सायद! आज तिमी मात्रै ढलेनौं मन्त्री अधिकारी, तिमिसंगै हजारौं युवा मनको ढुकढुकी ढल्यो, एउटा आशाका को किरण धुमिल बन्यो, तिम्रो कास्की जिल्ला मात्रै होइन तिमिलाई मुख्यमन्त्रीका रुपमा सम्भावित अभिभावक देखेको गण्डकी प्रदेश स्तब्ध बन्यो, एउटा जुझारु नेताको अवसानबाट बिकासप्रेमी जनजनको मनमा चिसो पस्यो र बिलिन भयो फगत एक कर्मशिल पात्र यो दुनियाँ बाट सदासदाका लागि!

मन्त्री अधिकारी! पछिल्लो समय तिमी आलोच्य बनेको अ-पुष्ट वाइडबडी काण्ड मलाई कत्ती पनि गिजोल्नु छैन! मलाई थाहा छ रविन्द्र, पुर्वाग्रही र सतही समाजको मनोदशा! दशकौं सम्म एउटा जहाज को पनि क्षमता बढाउन नसकेको राष्ट्रिय ध्वजाबाहकका लागि प्रक्रियामा रहेको जहाज तिमिले बस् रोक्न चाहेनौं! यतिबिघ्न आरोप र एम्बुसहरुका बिचमा पनि तिमी कत्ती बिचलित भएनौं र निरन्तर लागिरह्यौं उहीँ आत्मबल, उत्साह र अठोटका साथ, देश कर्ममा! त्यही क्रममा नयाँ उडान गन्तव्य खोज्न एअरपोर्टको सम्भाब्यता नियाल्न जादाजाँदै तिमी ढल्यौं, सदासदाका लागि!

प्रिय रविन्द्र! चाहे यो देशमा अरु हजार युगपुरुषहरुले जन्म लिउन, या देशले समृद्धिका उत्साहप्रद सुचांकहरु भेट्टाओस!

युरोपेली देशले नेपाली ध्वजाबाहकलाई कालो सुचिबाट हटाएको दिन, यो देशले तिमिलाई सम्झनेछ!

राष्ट्रिय ध्वजाबाहकले अनेक नया गन्तव्यहरु पहिल्याएर उडान भर्दा पाइलटहरुले तिमिलाई सम्झनेछन रविन्द्र!

गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलबाट जहाजले उडान भर्दा,
नेपालमा करौडौ पर्यटक एकैपटक रमाउदा,
हामी तिमीलाई सम्झिने छौ रविन्द्र!

आन्तरिक उडानका हरेक बिमानस्थलहरु बाट रात्रीकालिन समयमा बिमानहरुले उडान भर्दा, अनेक समस्याले आकुलव्याकुल हर-मनले तिमिलाई सम्झिनेछ रविन्द्र!

पोखरामा थाइ एयरको वायु , र टिआइएको नयाँ रन वे को आयु सगै यो देशले तिमीलाई सम्झिने छ रविन्द्र!

छिमेकी देशमा प्लेन डाइभर्ट हुने दिन रोकिदा,
र राती राती चन्द्रगढीमा असंख्य यात्रुहरु झर्दै गर्दा
हामी तिमीलाई सम्झिने छौ रविन्द्र!

पहाडका कुना-कन्दरा हरुमा विमानस्थल बन्दै गर्दा
र, यो देशले उड्डयन क्षेत्रमा उल्लेख्य फड्को मार्दा,
हामी तिमीलाई सम्झिने छौ रविन्द्र!

पोखराको रंगशालामा फुटबल हेरेको दिन,
म तिमिलाई सम्झन्छु!
पुर्वाग्रही,लहडी र सतही समाजको मनोदशा फेरीएको दिन
हामी तिमीलाई सम्झनेछौ!

र,
#visitNepal2020 मा २० लाख पर्यटन भित्रिदा
हामी अझै बढी तिमिलाई सम्झनेछौ रविन्द्र!

अलविदा मन्त्री रबिन्द्र अधिकारी!

हार्दिक श्रद्धासुमन

प्रतिक्रिया दिनुहोस्
सम्पर्क
अनामनगर -२९, काठमाण्डौ नेपाल
सम्पर्क नं. ९८४२७८४२२३
Email:[email protected]
दक्षिण कोरिया
सम्पर्क नं. +821036304532
Email:[email protected]
सामाजिक संजालमा हामी
हाम्रो बारेमा
अध्यक्ष-
सम्पादक– दिनेश कार्की
सह-सम्पादक–
संवाददाता– टंकेश लिम्बु
सूचना बिभाग दर्ता नं.
© 2019 ETV Khabar
Designed By : appharu